जेन–जी आन्दोलनमा प्रहरीको गोली लागेका २८ जना घाइते अझै पनि (मंगलबारसम्म) अस्पतालकै शय्यामा छन् । ती शय्याहरू अब उनीहरूका अस्थायी घर बनेका छन्, जहाँबाट उनीहरूले देशमा जेन–जी आन्दोलनपछि भइरहेका घटनाक्रम नजिकबाट नियालिरहेका छन् ।
घाइतेहरू कसैको हातमा इन्फ्युजन ट्युब बाँधिएको छ भने कसैको खुट्टा प्लास्टरले बाँधिएको छ । तर, उनीहरूका नजर मोबाइल स्क्रिनबाट बाहिर माइतीघरदेखि सिंहदरबारसम्म फैलिँदै छन् । चिन्ता एउटै छ– आन्दोलनको मर्म नमरोस् र नेतृत्व नक्कली जेन–जीको हातमा नजाओस् ।
‘गोली हामीले खायौँ, पीडा हामीले सह्यौँ,’ राष्ट्रिय ट्रमा सेन्टरको चौथो तलामा उपचाररत एक घाइतेले प्रत्यक्ष संवादमा भने, ‘तर अहिले जेन–जीको नाममा फाइदा लिन अरूको लर्को लागेको देख्दा मन पोलेको छ ।’ शरीरको घाउ निको हुँदै गए पनि उनीहरूको मनमा अर्को घाउ पलाइरहेको छ– ‘हामी लड्यौँ, तर बोल्ने र नेतृत्व गर्ने अरू को–को हुन् ?’
आन्दोलनको मर्मअनुसार काम होस् र असम्बन्धित व्यक्तिको हातमा नेतृत्व नजाओस् भनेर उनीहरू एकजुट हुँदै छन् । अस्पतालमा रहेका घाइतेहरू अहिले आपसमा भेटघाट गर्दै छन् । सूची तयार पार्दै छन् । र एकता बनाउने काम गर्दै छन् । ‘घाइतेहरूको आवाज हराउन दिनुहुन्न,’ उनीहरूको साझा भावना छ ।
२९ दिनदेखि उपचारमा रहेका ती युवा–युवतीका शरीरमा अझै घाउ बाँकी छन्, तर उनीहरूको आवाज अझ सशक्त हुँदै गएको छ । डिस्चार्ज भएका घाइतेहरू एकत्रित हुँदै छन् । उनीहरूले अस्पताल पुगेर तथ्यांक संकलन गर्न थालेका छन् ।
छातीमा गोली लागेर उपचाररत मदन कार्की पनि ट्रमा सेन्टरको जनरल वार्डमा छन् । उनी रहेको चौथो तलामा अन्य चार घाइते छन् । उनीहरू चारजना एकअर्कालाई भेट्ने र अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरिरहेका छन् । उपचारपछि डिस्चार्ज भएका पनि अस्पतालमा भेट्न र माग कसरी राख्ने भन्नेबारेमा छलफल गर्न आउने गरेका छन् ।
‘अहिलेसम्म गोली हान्ने र आदेश दिनेलाई कारबाही भएन, जेन–जीको नाममा धेरै मानिस अघि सरेर फाइदा लिन खोजेको देखिन्छ, यस्तो हुनुहुँदैन । हामीले त देश बन्नुपर्छ, युवाहरू अग्रपंक्तिमा आउनुपर्छ भनेर पो आन्दोलन गरेका हौँ, कसैको फाइदाका लागि होइन,’ उनले सुनाए, ‘अस्पतालमा उपचाररत घाइतेलाई थाहै नदिई बाहिर अनेकौँ फन्डा भइरहेको देखिन्छ, हामी यसबारे सजग छौँ, घाइतेहरू एकजुट भएर अघि बढ्छौँ ।’
मंगलबारसम्म ट्रमा सेन्टरमा ११ जना घाइतेको उपचार भइरहेको छ । त्यसमध्ये एकजना प्रहरी पनि छन् । घाइते भएका जेन–जीहरूले अब जेन–जीको नेतृत्व आफूहरूले गर्नुपर्ने र जेन–जीको खोल ओढेर कतिपयले फाइदा लिने काम गरिरहेकाले त्यसलाई रोक्ने बताएका छन् । उनीहरूले सबै घाइते डिस्चार्ज भइसकेपछि माइतीघर मण्डलामा धर्नामा बस्ने तयारीसमेत गरेका छन् ।
ट्रमा सेन्टरको चौथो तलामा उपचाररत अर्का एक घाइतेले भने, ‘यदि जेन–जीको नाममा फेक पात्रले नेतृत्व गर्न खोजे भने, हामी अस्पतालका शय्याबाटै उठ्नेछौँ । माइतीघर पुग्नेछौँ र जनतालाई असली जेन–जी को हो भनेर देखाउनेछौँ ।’
उनीहरूले जेन–जीका नाममा भएको गुटबन्दीको पनि विरोध गरेका छन् । ‘आन्दोलनको सबैभन्दा बढी जस लिने त घाइते र मृतकका परिवारले होला, तर यहाँ त गुटबन्दी नै भइसकेको रहेछ,’ ट्रमामै उपचाररत अर्का घाइतेले भने, ‘हामी अस्पतालबाट डिस्चार्ज भएपछि सडकमा फेरि निस्किन्छौँ, एकपटक गोली खाइयो अर्कोपटक खानलाई डर छैन, हामीले न्याय पाउनैपर्छ, मृतकका परिवारले न्याय पाउनैपर्छ ।’
जेन–जी प्रदर्शनमा घाइते भएका पवन शाहीले घाइतेहरूको दुरुपयोग भइरहेको र जेन–जी आन्दोलनको उद्देश्यलाई तोडमोड गर्न खोजिएकाले आफूहरू अस्पतालबाट नै एक भएर सडकमा निस्कने बताए । ‘जेन–जी जेन–जी भनेर थुप्रै व्यक्ति अघि सरिरहेका छन् । गोली हान्न आदेश दिने र गोली हान्नेलाई कारबाही भएको छैन, अब घाइतेहरू एकजुट भएर दबाब दिनुपर्छ, यो देश बनाउनुपर्छ,’ उनले भने ।
जेन–जी प्रदर्शनका क्रममा दुई हजार ४२० घाइते भएकामध्ये हाल २८ जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार जारी छ । गम्भीर घाइते भएकामध्ये कतिपय अंगभंगकै अवस्थामा छन् । हाल ट्रमा सेन्टर ११ जना घाइते उपचाररत छन् । त्रिवि शिक्षण अस्पतालमा पाँच जना, केएमसीमा दुई जना, विराट मेडिकल कलेजमा एकजना, नोबल मेडिकल कलेजमा एकजना, बिएन्डबी अस्पतालमामा तीनजना, पाटन अस्पतालमा एकजना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना, नेपाल प्रहरी अस्पतालमा एकजना र निजामती अस्पतालमा एकजनाको उपचार जारी छ ।
शिवहरि घिमिरे/नयाँ पत्रिका
✏️ टिप्पणी लेख्नुहोस्