सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारको पेसागत र भौतिक सुरक्षाका सम्बन्धमा राज्यका सम्बन्धित निकायसँग छलफल गर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा आयोजित हेम(सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा मन्त्री खरेलले पत्रकारको सुरक्षा व्यवस्थाका विषयमा गृहमन्त्रीलगायत सम्बन्धित निकायसँग छलफल गर्ने बताएका हुन् ।

उनले गत चैत १५ गते काठमाडौँ तीनकुनेमा भएको प्रदर्शनको समाचार सङ्कलन गर्ने क्रममा पत्रकार सुरेश रजकको निधन भएको घटनाबारे छानबिन वा उचित न्यायका लागि पहल गर्ने बताए । रजकसँगै विभिन्न आन्दोलन एवं प्रदर्शनका क्रममा मृत्यु वा घाइते भएका पत्रकारका विषयमा समेत छानबिन गर्ने उनको आश्वासन छ ।

नेपाल टेलिभिजनले यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट एभिन्यूज टेलिभिजनका क्यामरापर्शन रजकलाई मरणोपरान्त प्रदान गरेको छ। मन्त्री खरेलले यस पुरस्कारले रजकसँगै स्व पत्रकारहरू हेम–सुनिलप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

“सम्मानले परिवारलाई धैर्यता र साहस दिन्छ । स्व. पत्रकार रजकको न्यायका लागि मन्त्रालय तत्पर हुनेछ। गृहमन्त्रीसँग छलफलमा बसेर कुरा गर्नेछु। प्रधानमन्त्रीसमक्ष पनि यो कुरा पु¥याउने छु”, उनले भने, “पत्रकारको जीवन व्यवस्था परिवर्तन गर्दा होस् वा सरकार परिवर्तन, प्राकृतिक वा मानव निर्मित जोखिम कुनै पनि कालखण्डमा जोखिम मालेर काम गरिरहेका हुन्छौँ। गाँस, बास कपासको दुःख हुन्छ । तर हामीले देश, राष्ट्र जनताका लागि कलम चलाइरहनुपर्ने, आवाजहरू दिइरहनुपर्छ। आफू मरेको थाहै हुँदैन, आफू अधिकारविहीन, आफू अन्यायमा परेका थाहै हुँदैन।”

मन्त्री खरेलले सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) लाई स्वतन्त्र, व्यावसायिक र आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्नेमा समेत जोड दिएका थिए । “रेडियो नेपाल र नेपाल टेलिभिजन मर्ज हुनु पिएसबी हुनु हो भन्नेमा ढुक्क नहोऔँ। जिम्मेवार, जवाफदेही, स्वतन्त्र र व्यावसायिक पिएसबी बनाउँछौँ भन्नेमा मेरो विश्वास छ”, उनले भने ।

कार्यक्रममा मन्त्रालयकी सचिव राधिका अर्यालले स्व. पत्रकार रजकको परिवारको मागअनुसार न्यायका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताइन । स्व. पत्रकार रजकको परिवारले उक्त घटनाको दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखेका थिए ।

नेपाल टेलिभिजनका पत्रकारद्वय हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापित एक लाख राशिको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार २०६४ सालदेखि साहसिक पत्रकारिता गर्ने टेलिभिजन पत्रकारलाई प्रदान गरिँदै आएको छ। पुरस्कार हरेक वर्ष असोज ७ गते विशेष कार्यक्रमबीच प्रदान गरिन्छ।

विसं २०६३ असोज ७ गते समाचार सङ्कलनका क्रममा ताप्लेजुङको घुन्सामा हवाई दुर्घटनामा नेपाल टेलिभिजनका हेम भण्डारी र सुनिल सिंहको निधन भएको स्मृतिमा हरेक वर्ष महासङ्घ टेलिभिजन प्रतिष्ठान शाखाले पुरस्कार प्रदान गर्दै आएको छ।