त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महारजगञ्जले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।
आज बिहान पक्राउ लगत्तै त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिएका छन् । “उहाँको आज स्वास्थ्य परीक्षण गरियो । परीक्षण गरिएका कुरा सामान्य नै रहेको पाइयो । बिहान भर्ना हुँदा मुटुको धड्कन बढे पनि हाल ठीक भएको छ । मिर्गौला पनि ठीक रहेको छ”, उनले भने ।
अस्पतालका प्रवक्ता डा सेढाईँले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी देखिएकाले आज अस्पतालमा नै राखेर उपचार गरिने बताए । अध्यक्ष ओलीलाई आज बिहानै प्रहरीले पक्राउ गरेर स्वास्थ्य अवस्था जाँचका लागि शिक्षण अस्पताल लगेको थियो । त्यसक्रममा उनी त्यहीको ५०१ नं. बेडमा भर्ना भएका छन् ।
ओलीलाई गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार्की आयोगको प्रतिवेदन अपूर्ण रहेको आवाज समेत उठिरहेको छ ।
✏️ टिप्पणी लेख्नुहोस्