गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी विद्रोहका क्रममा लुटिएका हतियार फिर्ता ल्याउन र फरार केदीबन्दी पक्राउ गनृ सरकारले विशेष अपरेशन सञ्चालन गर्ने बताएका छन् । २२ कात्तिक शनिबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित राष्ट्रिय वृहत् आर्थिक बहस २.० लाई सम्बोधन गर्दै अर्यालले यसमा नागरिक स्तरको तहबाट पनि सहयोग आवश्यक रहेको बताएका छन् ।

गृह मन्त्री अर्यालले सुशासन दिन नसकेमा द्वन्द्व दोहोरिन सक्ने जोखिम रहेको बताए । उनले भने, ‘सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन पनि सक्छ भन्ने एउटा ठूलो म्यासेज अहिले दिएको छ । त्यो अवस्था सत्ता परिवर्तनको मात्रै होइन सुरक्षा संकट नै निम्तिन सक्छ ।’

अहिलेसम्म जेनजी विद्रोहका क्रममा लुटिएका ७१० वटा हतियार फिर्ता भइसकेको र केही हतियार डढेको अर्यालले जानकारी दिए । मन्त्री अर्यालका अनुसार, लुटिएका केही हतियार अझै फिर्ता हुन बाँकी छ। आन्दोलनका क्रममा १४ हजार ५४९ जना फरार रहेकोमा ९ हजार ५२१ जना फिर्ता आइसकेको र अझै पाँच हजार १०५ जना बाहिर रहेको उनले जानकारी दिएका छन् ।

गृहमन्त्री अर्यालका भनाइमा अझै ३५ प्रतिशत कैदीबन्दी फरार छन् । ‘कैदीबन्दीहरु अहिलेसम्म १४ हजार ५४९ जना फरार भएकोमा ९ हजार ५२१ जना (६५ प्रतिशत) फिर्ता भइसकेका छन् । केही सङ्ख्या अझै पनि बाहिर छ । पाँच हजार १०५ जना अहिले पनि बाहिर छन्,’ उनको भनाइ छ ।

गृहमन्त्री अर्यालले थपे, ‘हतियार र कैदीहरूलाई फिर्ता गर्नको लागि पटक पटक सूचना निकालेर आइदिनुस्, हतियार फिर्ता दिनुस् पनि भनेका छौँ । अझै बाहिर हुनुहुन्छ । त्यसलाई विशेष अपरेशन चलाउँछौँ । यसमा नागरिक स्तरको तहबाट पनि सहयोग चाहिन्छ ।’

उनले कानूनी राज्यको जगेर्ना गर्नु आफ्नो दायित्व भएको बताए । सरकार र निजी क्षेत्र एक अर्काको परिपूरक भएको बताउँदै निजी क्षेत्रको दायित्व अर्थतन्त्रको जगेर्ना गर्नु रहेको अर्यालले् बताएका छन् ।