वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । कांग्रेस कोटाका पाँच मन्त्री नियुक्त गरेर बानियाँले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । यसअघि बहादुरसिंह लामाले राजीनामा दिनुअघि उनकै पक्षका तीन जनालाई मन्त्री बनाउने सहमति जनाएका बानियाँले अहिले आफ्नो पक्षलाई मात्र मन्त्री बनाएका छन् ।
मुख्यमन्त्री बानियाँले यसअघि कांग्रेस कोटाबाट शिवराज अधिकारी र कृष्ण लामालाई मन्त्री बनाएका थिए । शुक्रबार उनले कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, बिनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्री बनाएका हुन् । उनीहरूको शपथ आजै हुने बताइएको छ । मुख्यमन्त्रीको कार्यालयले मन्त्रीहरूलाई शपथका लागि अपराह्न ४ बजे तयार रहन मौखिक जानकारी दिइसकेको स्रोतको भनाइ छ ।
आफूसँगै शपथ गराएकामध्ये कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री नियुक्त गरेका बानियाँले शिवराज अधिकारीलाई भने बिनाविभागीय मन्त्री बनाएका छन् । शुक्रबार सिफारिस गरिएका पाँचैजना संसदीय दलको चुनावमा बानियाँलाई भोट हालेका व्यक्ति हुन् ।
लामाले मन्त्रिपरिषद्बाट राजीनामा दिएर बानियाँलाई दलको नेतामा समर्थन जनाएका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामकुमार खड्काले पनि राजीनामा दिएका थिए । उनीहरू कसैले पनि पुनः मन्त्री पाएनन् ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार, नवनियुक्त मन्त्रीहरूमध्ये श्रेष्ठलाई युवा तथा खेलकुद, नेपाललाई सामाजिक विकास, वादेलाई आन्तरिक मामिला तथा कानुन, तामाङलाई आर्थिक मामिला, रायमाझीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी र बिनाविभागीय रहेका शिवराज अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
✏️ टिप्पणी लेख्नुहोस्