२४ भदौको घटनाको सत्यतथ्य छानबिन गर्न एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने र समितिको सिफारिसका आधारमा थप कारबाही अघि बढाउने सरकारको कार्यसूची

२३ भदौको जेन–जी आन्दोलनमा तत्कालीन सत्ताको बर्बर दमनमा १९ युवा मारिएपछि २४ भदौमा आगजनी, तोडफोड र लुटपाटका घटना भए । यसरी हिंसा मच्चाउनेलाई पक्राउ नगरेको भनेर प्रश्न उठ्ने गरेको छ । तर, प्रहरीले आन्दोलनको आवरणमा प्रहरीको हत्या, व्यक्तिको सम्पत्ति लुटपाट तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडलगायत कसुरमा १२ चैतसम्म ९४९ जनालाई पक्राउ गरिसकेको छ ।

प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्ले जेन–जी आन्दोलनको आवरणमा भएका अपराधमा प्रहरीमा ७८७ मुद्दा दर्ता भइसकेको बताउँछन् । जसमध्ये ६५८ फर्स्योट भइसकेका छन् भने १२९ अनुसन्धानका क्रममा छन् । आन्दोलनमा आगजनी र लुटपाट मच्चाउनेलाई देशैभरि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।

‘जेन–जी आन्दोलनको आवरणमा अपराध गर्ने ९४९ पक्राउ परेकोमा २०७ जना पुर्पक्षका लागि थुनामा गएका छन्,’ डिआइजी काफ्लेले भने, ‘४७० धरौटीमा, २४३ हाजिरी–जमानीमा र २१ जना साधारण तारेखमा छुटेकोमा आठजना अहिले पनि हिरासतमा छन् ।’ जिल्ला अदालतबाट थुनामा गएका १८ जना माथिल्लो अदालतको आदेशमा धरौटीमा छुटेका थिए ।

प्रहरीले पहिचान गरेका कतिपय आरोपी फरार छन् । सर्वोच्च अदालत जलाउनेदेखि नेताको घरमा लुटपाट गर्नेसम्म पक्राउ परिसकेको प्रहरीले जनाएको छ । त्यस्तै, प्रहरीको हतियार लुटपाट गर्नेलाई पक्राउ गरी डकैती तथा हातहतियारसम्बन्धी मुद्दा चलाएको प्रहरी विवरण छ ।

ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, नैतिकताविरुद्धको कसुरजस्ता मुद्दा पनि प्रहरीले दायर गरेको छ । सरकारले २४ भदौमा भएको घटनाको छानबिनका लागि छुट्टै समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय छानबिन समिति एक साताभित्र गठन गर्ने निर्णय गरेको हो । उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।
नयाँपत्रिका