प्रधानमन्त्री सुशीला कार्कीले विपीन जोशीको शवमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएकी छन् । हमासको कब्जामा हत्या गरिएका जोशीको शव आजैइजरायलबाट काठमाडौं आइपुगेको हो । प्रधानमन्त्री कार्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर जोशीको शवलाई श्रद्धाञ्जली दिएकी हुन् ।
प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल लगायत विमानस्थल पुगेर जोशीको शवलाई श्रद्धाञ्जली दिएका थिए । त्रिभुवन विमानस्थलको श्रद्धाञ्जली कार्यक्रम सकिएपछि जोशीको शव आज नै नेपाली सेनाको जहाज (स्काई ट्रक) मा राखी धनगढी विमानस्थलसम्म लगिएको छ । धनगढी विमानस्थलबाट सुदूरपश्चिम पृतनाले जोशीको शव कञ्चनपुर पुर्याउने छ । कञ्चनपुरमा उनको अन्तिम संस्कार गरिनेछ ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा जोशीसहित २५१ जनालाई बन्धक बनाई लगेका थिए । केही दिनअघि हमास र इजरायलबीच युद्ध विराम भएपछि हमासले उनको मृत्यु भइसकेको घोषणा गरेको थियो । त्यसपछि हमासले रेडक्रसमार्फत जोशीको शव इजरायली सेनालाई सुम्पिएको थियो । इजरायली सेनाले शवको डीएनए परिक्षण गर्दा शव जोशीको नै रहेको पुष्टि भएपछि इजरायल सरकारले शव नेपाल पठाएको हो ।
✏️ टिप्पणी लेख्नुहोस्