नेपाल कम्युनिष्ट पार्टी स्थापना र कम्युनिष्टहरुका अन्तर्राष्ट्रिय गुरु भ्लादिमिर इलिच लेनिनको जन्म जयन्तीका अवसरमा नेकपपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले शुभकानमना दिएका छन् । पढ्नुहोस् प्रचण्डको वक्तव्य जस्ताको तस्तैः

शुभकामना सन्देश
आदरणीय जनसमुदाय,
विश्व सर्वहारा वर्गका महान् नेता भ्लादिमिर इलिच लेनिनको जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ऐतिहासिक दिनको अवसरमा न्याय, समानता तथा स्वतन्त्रताका पक्षधर सम्पूर्ण जनसमुदायलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। साथै, मानव जातिको सुन्दर भविष्य निर्माणका लागि इतिहासका विभिन्न कालखण्डमा भएका क्रान्ति तथा आन्दोलनमा बलिदानका कीर्तिमान राख्नुभएका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु।
महान् लेनिनले मानव सभ्यताको इतिहासमै पहिलो पटक श्रमजीवी वर्गको नेतृत्वमा समाजवादी राज्यको स्थापना गरी शोषणमुक्त र न्यायपूर्ण समाज सम्भव छ भन्ने तथ्यलाई प्रमाणित गर्दै क्रान्तिको मार्क्सवादी सिद्धान्तको विकास गर्नुभयो। पूँजीवादले फेरि असमानता, युद्ध, बेरोजगारी, सांस्कृतिक क्षय र वातावरणीय संकट निम्त्याइरहेको आजको विश्वमा लेनिनको विचार र उहाँले देखाएको बाटो अझ सान्दर्भिक र आवश्यक बनेको छ। मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छ भन्ने कुरा पुनः पुष्टि भइरहेको छ।
सामन्तवाद र साम्राज्यवादविरुद्ध जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवाद स्थापनाको लक्ष्य राखेर नेपालमा वि.सं. २००६ साल (१९४९ अप्रिल २२) मा कम्युनिस्ट पार्टीको स्थापना भएको हो। कम्युनिस्ट आन्दोलनको सुरुआतसँगै समाजको पीँधमा रहेका जाति, वर्ग र समुदायका मुद्दाहरू मुखरित भई उत्पीडित जनताको लामो संघर्ष, त्याग र बलिदानका कारण आज हामी सामन्ती वंशवादमा आधारित राजतन्त्रको अन्त्य गर्दै समावेशी, धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भएका छौं। यतिखेर एक थरी प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूले जनताका उपलब्धिहरू खोसेर नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस गर्दैछन्। तर, यो उनीहरूको दिवास्वप्न मात्रै हो, किनभने संघर्षको जगमा प्राप्त उपलब्धिहरू नेपाली जनताले युगौँदेखि साँच्दै आएका सपना हुन्, जसको रक्षा र थप विकासबाट मात्रै हाम्रासामु देखिएका चुनौतीको सामना गर्दै समाजवादतर्फको यात्रामा अघि बढ्न सकिन्छ। परिवर्तनका पक्षधरहरूका लागि यो नै आजको प्रमुख राष्ट्रिय जिम्मेवारी समेत बनेको छ।
त्यसैले, यस ऐतिहासिक अवसरमा म सम्पूर्ण पार्टी कार्यकर्ता, शुभेच्छुक र न्यायप्रेमी जनतासँग इतिहासलाई लेनिनको विचार एवं नेपाली जनताको त्याग, बलिदानको सम्मान र प्राप्त उपलब्धिहरूको रक्षा र विकासमार्फत समाजवादको यात्रामा एकजुट भई अघि बढ्न अपील गर्दछु।
०९ बैशाख, २०८२ (२२ अप्रिल)