घुस लिएको दाबीसहित एमालेका दुई मन्त्रीको अडियो सार्वजनिक हुँदा गुप्ताले राजीनामा दिए, भूमिमन्त्री अधिकारीलाई नेतृत्वकै संरक्षण
कास्की लिचीघारीको १३५ रोपनी जग्गा प्रकरणमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले पनि ३२ लाख घुस लिएको अडियो सार्वजनिक भइसकेको छ । यस विषयमा उनको चौतर्फी आलोचना हुँदा पनि नेतृत्वले भने संरक्षण गरिरहेको छ । स्थानीय पार्टी कमिटीहरूबाट उनको राजीनामाको माग आउँदै छ, तर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली मौन छन् । कास्की एमालेको जिल्ला भेलाले मन्त्री अधिकारीको राजीनामा मागेको छ, तर केन्द्रमा दुई–दुई दिन बसेको सचिवालय र पोलिटब्युरो बैठकले यति गम्भीर विषयमा सामान्य छलफल पनि गरेन ।
एमाले कास्कीले ५, ६ र ७ साउनमा मनाउन लागेको पुष्पलाल स्मृति दिवसको तयारीका लागि शनिबार जिल्ला भेला राखेको थियो । उक्त भेलामा जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री र केन्द्रीय सदस्यसमेत रहेका जिल्ला इन्चार्ज कृष्ण थापाले लिचीघारी जग्गा मामिलामा जोडिएका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले राजीनामा दिनुपर्ने र पार्टीले छानबिन गरी कारबाही गर्नुपर्ने एजेन्डा उठाए । उनीहरूले उक्त एजेन्डा भेलामा राख्नेबित्तिकै हलमा उपस्थित सबै नेता–कार्यकर्ताले ताली बजाएर पारित गरेका थिए । निर्णयलाई माथिल्लो कमिटी ९प्रदेश कमिटी०मा पठाउने निष्कर्ष भेलाले निकालेको इन्चार्ज थापाले बताए ।
‘भष्टाचारमा संलग्न भएको आरोपमा केही दिनअघि एउटा मन्त्री (सामान्य प्रशानमन्त्री राजकुमार गुप्ता) ले राजीनामा दिनुभयो । फेरि अर्को मन्त्री (भूमि व्यवस्थामन्त्री बलराम अधिकारी)को पनि भ्रष्टाचारमा नाम जोडिएको सार्वजनिक भएको छ,’ अध्यक्ष क्षेत्रीले भनेका थिए, ‘उहाँले पनि राजीनामा दिनुपर्छ र पार्टीले छानबिन गरी दोषी ठहरिए कारबाही गर्नुपर्छ । पार्टीका जो नेता हुन्, उनीहरूले गरेको गल्तीको भारी पार्टीले बोक्नुहुँदैन । छानबिन गरेर जसले जस्तो गल्ती गरेको छ सोहीअनुसार पार्टीले कारबाही गर्नुपर्छ ।’
अध्यक्ष क्षेत्रीले सम्बोधन गरेपछि आफूले पनि भ्रष्टाचार र अपराधमा नाम जोडिएका मन्त्री वा जोसुकै ठुला नेता भए पनि कारबाही हुनुपर्ने धारणा राखेकोे जिल्ला इन्चार्ज थापाले बताए । ‘अध्यक्षले एजेन्डा र मैले भनाइ राखेपछि भेलाले भ्रष्टाचार र अपराधमा नाम जोडिएका मन्त्री वा ठुला नेता जो भए पनि कारबाही हुनुपर्ने निष्कर्ष निकाल्यो । अध्यक्ष र मेरो प्रस्तावलाई हलले सर्वसम्मत पारित गरेपछि माथिल्लो कमिटीमा पठाउने निर्णय भएको छ,’ थापाले भने, ‘साना नेताले गल्ती गर्दा कारबाही भोग्नुपर्ने र ठुला नेताले जे गरे पनि केही नहुने भन्ने हुन्न । जसले जे अपराध र कर्म गरेको छ, त्यसको निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्छ भन्ने मेरो मान्यता हो । ए, बी, सी, डी जोसुकै नेता भए पनि निर्मम तरिकाले छानबिन गरी गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ ।’
भेलामा केन्द्रीय सदस्य चूडामणि जंगली, प्रभा कोइराला, सल्लाहकार परिषद् सदस्य सूर्य खड्का बिखची, डिबी नेपालीलगायत उपस्थित थिए । बैठकमा अध्यक्ष थापाले लिचीघारी जग्गा प्रकरणमा बिचौलियाका रूपमा जोडिएका पार्टी गण्डकी प्रदेश सल्लाहकार परिषद् सदस्य सुजन लामाको उक्त सदस्यता नवीकरण रोकेको पनि भेलालाई जानकारी गराएका थिए ।
काठमाडौंमा चलेको पोलिटब्युरो बैठकमा भने लिचीघारी जग्गा प्रकरणमा जोडिएका पार्टीका मन्त्रीहरूका सम्बन्धमा कुनै प्रसंग नै नउठेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘उक्त विषय कास्कीमा पार्टीले उठाएको छ । पोलिटब्युरोमा यसबारे कुनै प्रसंग नै उठेन,’ उनले भने, ‘अब सोमबार केन्द्रीय कमिटी बैठक बस्छ, त्यहाँ यस विषयमा धारणा आउन पनि सक्छ ।’
मन्त्री अधिकारीलाई निलम्बनको माग गर्दै आफ्नै कार्यालयमा परेको उजुरीमा प्रधानमन्त्रीको बेवास्ता
कास्की लिचीघारीको जग्गा मामिलामा ७८ लाख घुस डिलको अडियो बाहिरिएपछि सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिए । उनीमाथि अख्तियारले थप छानविन गरिरहेको छ । तर, यही प्रकरणमा भूमि व्यवस्थामन्त्री बलाराम अधिकारीले ३२ लाख घुस लिएको दाबी गरिएको नयाँ अडियो आउँदा र निलम्बनका लागि आफ्नै कार्यालयमा उजुरी पर्दा पनि प्रधानमन्त्री केपी ओलीले बेवास्ता गरेका छन् । मन्त्री पदमा रहेर घुस खानु भ्रष्टाचारजन्य अपराध भएको भन्दै अधिकारीलाई तत्काल निलम्बन र कारबाहीको माग गर्दै युवराज सफलले १ साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दिएका थिए । मन्त्री अधिकारी, उनका छोरा र सचिवालय टिममाथि पनि अनुसन्धान गर्नुपर्ने मागसहित उजुरी परे पनि प्रधानमन्त्री ओलीले उजुरी थाती राखेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।
अधिकारीलाई गुप्ताले पनि अडियोमा पोलेका थिए । सञ्चारमाध्यमबाट अडियो सार्वजनिक भएपछि त्यसैलाई पनि उजुरी मानेर अख्तियारले छानबिनलाई विस्तारित रूप दिएको छ । यहाँ गुप्ता र अधिकारी दुवै जोडिएको बिचौलिया समूह एउटै हो । निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताविरुद्ध छानबिन गर्न १० असारमै अख्तियारमा उजुरी दर्ता भएको थियो । तर, उजुरी लिएर सुरुमा अख्तियार पनि चुपचाप थियो । जब घुस डिलको अडियो नै सार्वजनिक भएसँगै चौतर्फी दबाबबिच गुप्ताले ३१ असारमा पदबाट राजीनामा दिए, तब मात्र अख्तियारले अनुसन्धान अधिकृत तोकेर छानबिन थालेको हो ।
घुस डिलसम्बन्धी अडियो परीक्षण पनि थालिएको छ । अख्तियारले बुधबार राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाएको अडियोसँग गुप्ताको वास्तविक स्वर भिडाएर फरेन्सिक परीक्षण भइरहेको अख्तियार स्रोतले बतायो । अब अडियो परीक्षणको रिपोर्ट प्रतिवेदन आएपछि मात्रै छानबिनले आकार पाउँछ । ‘अहिले अडियोको फरेन्सिक परीक्षण रिपोर्ट पर्खिरहेको अवस्था छ,’ अख्तियार स्रोत भन्छ, ‘यो रिपोर्टको नतिजाले आगामी छानबिनलाई निर्देशन गर्नेछ ।’ अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेल भने छानबिनमा रहेको विषय अनुसन्धान अधिकृतबाहेक अरूलाई जानकारी नहुने बताउँछन् ।
शुरोजंग पाण्डे नयाँ पत्रिका
✏️ टिप्पणी लेख्नुहोस्