इरानी सेनाले अमेरिकी सेनाका दुई लडाकु विमान खसालेको छ । एउटा देशको दक्षिण–पश्चिमी भागमा र अर्को हर्मुजको जलमार्गवरपर । इरानले दुईवटा अमेरिकी सैन्य विमान खसालेको घटना अमेरिकाका लागि अत्यन्तै दुर्लभ (२० वर्षपछि पहिलोपटक) हो । पछिल्लो इरानी प्रत्याक्रमणले राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘तेहरानलाई पूर्ण रूपमा ध्वस्त पारिएको’ दाबी गरे पनि इस्लामिक गणतन्त्रको जवाफी प्रहार गर्ने निरन्तर क्षमता देखाउँछ । अमेरिकी र इजरायली आक्रमणले इरानमा पहिलोपटक प्रहार गरेको पाँच हप्तापछि यी आक्रमण भएका छन् । ट्रम्पले यसै साताको सुरुमा भनेका थिए कि तेहरानको ‘क्षेप्यास्त्र र ड्रोन प्रहार गर्ने क्षमता नाटकीय रूपमा कम भएको छ ।’ तर, उनको दाबीविपरीत इरानले दुईवटा अमेरिकी लडाकु विमान खसालिदिएको छ, जसलाई अमेरिकाले पनि पुष्टि गरेको छ ।

इरानले शुक्रबार अमेरिकी एफ १५–ई स्ट्राइक इगल लडाकु विमान खसालेको थियो, जसमा एक सेवा सदस्यलाई उद्धार गरिएको थियो र दोस्रा व्यक्तिको खोजी जारी रहेको अमेरिकी अधिकारीले बताएका छन् । त्यस्तै अर्को लडाकु विमानलाई पनि इरानले खसालिदिएको छ । इरानका सरकारी सञ्चार माध्यमले इरानी रक्षाबलले प्रहार गरेपछि अमेरिकी ए–१० वार्थोग विमान फारसी खाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताएका छन् । अमेरिकी–इजरायली हवाई आक्रमणलाई सशक्त प्रतिकार गरेको एक महिनाभन्दा बढी समयपछि इरानी सेना अझै पनि एक जिद्दी शत्रु बनेको छ । इरानी सेनाको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले हवाई प्रतिरक्षाले एउटा एफ–१५ जेटलाई पूर्ण रूपमा ध्वस्त पारेको पुष्टि गरे । त्यसपछि इरानी सेनाले खाडीमा एफ–१० अमेरिकी विमानलाई निसाना बनाएको बतायो ।

न्युयोर्क टाइम्सले अज्ञात अधिकारीलाई उद्धृत गर्दै भनेको छ कि दुर्घटनापछि ए–१० का पाइलट सुरक्षित थिए । तर, खसालिएको एफ–१५ का एक पाइलटको अवस्था अज्ञात छ । जेटका एक चालक दल सदस्यलाई अमेरिकी सेनाले फेला पारेर उद्धार गरेको, तर अर्को अझै पनि बेपत्ता रहेको धेरै अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । इरानले विमान खसाल्दा तेहरानसँगको वार्ताको सम्भावनालाई असर नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

इरानका राज्य मिडिया आउटलेटले एफ–१५ जेटको भग्नावशेषजस्तो देखिने तस्बिर सार्वजनिक गरेका छन् । जेट खसालेपछि इरानी संसद्का सभामुख मोहम्मद–बाघेर गालिबाफले युद्धमा ट्रम्पको विजयको बारम्बारको दाबीको खिल्ली उडाएका छन् । गालिबाफले सामाजिक सञ्जाल पोस्टमा लेखे । मध्यपूर्व र एसियाको धेरैजसो भागमा सैन्य अप्रेसनको निरीक्षण गर्ने पेन्टागन र अमेरिकी केन्द्रीय कमान्डले भने घटनाबारे तत्काल कुनै टिप्पणी गरेका छैनन् ।

धेरै अमेरिकी राजनीतिज्ञले खसालिएको जेटको रिपोर्ट स्वीकार गर्दै अमेरिकी सेनाप्रति समर्थन जनाएका छन् । ‘म लडाकु जेटमा सवार चालक दल र यी खतरनाक परिस्थितिमा उनीहरूलाई उद्धार गरी सबैको सुरक्षित फिर्तीका लागि प्रार्थना गरिरहेको छु,’ सिनेट अल्पसंख्यक नेता चक सुमरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भने । फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि अमेरिकाले कुवेतमा आगलागीको घटनामा तीनवटा एफ–१५ लडाकु जेट गुमाएको छ । गत महिना इराकमाथि पनि अमेरिकी सेनाको इन्धन भर्ने विमान खसेको थियो, जसमा छजना चालक दलका सदस्य मारिएका थिए । यसैबिच इरानी अधिकारीले खसालिएका पाइलटका लागि पुरस्कार प्रस्ताव गरेका छन् र स्थानीयलाई खोजीमा सामेल हुन आह्वान गरेका छन् ।

इरानले यसरी बनायो निसाना
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स ९आइआरजिसी० द्वारा जारी गरिएको फुटेजमा अमेरिकी लडाकु विमानलाई सतहबाट हावामा क्षेप्यास्त्र प्रहार गरेको देखाइएको छ, जुन परम्परागत राडारमा आधारित ट्र्याकिङको सट्टा अप्टिकल र इन्फ्रारेड (आइआर) सेन्सरद्वारा खिचिएको देखिन्छ । इरानी सरकारी सञ्चार माध्यद्वारा जारी गरिएका तस्बिरले उच्च–कन्ट्रास्ट थर्मल तस्बिर प्रदर्शन गर्छ, जुन इलेक्ट्रो–अप्टिकलरइन्फारेड (इओरआइआर) ट्र्याकिङ प्रणालीको विशेषता हो । राडार–निर्देशित सतहबाट क्षेप्यास्त्र प्रणालीको ठुलो भाग अमेरिकी र इजरायली हवाई आक्रमणद्वारा नष्ट भएको अनुमान छ ।
एजेन्सी/नयाँ पत्रिका