कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले सबै मन्त्रीहरूलाई पदमुक्त गरी नयाँ मन्त्री तथा राज्यमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबाट नयाँ अनुहारहरूलाई सरकारमा सहभागी गराएका हुन् । मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले आजै (२२ पुस) पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूलाई शपथ गराएका हुन् । नयाँ मन्त्रिपरिषदमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच समान भागबण्डा गरिएको छ । दुवै दलबाट ४र४ जना मन्त्री र १र१ जना राज्यमन्त्री सरकारमा सहभागी भएका छन् ।
प्रदीपकुमार सुनुवार भौतिक पूर्वाधार विकास, भीम पराजुली पर्यटन, वन तथा वातावरण, तिलचन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा र इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् । त्यसैगरी विदुरकुमार लिङ्थेप आर्थिक मामिला तथा योजना, रामप्रसाद महतो सामाजिक विकास, मानबहादुर लिम्बू स्वास्थ्य र इसाइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री चुनिएका छन् ।
शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम विनाविभागीय राज्यमन्त्री नियुक्त भएका छन् ।

✏️ टिप्पणी लेख्नुहोस्