पर्सा प्रहरीले तीन सय १९ किलो चरेससहित पक्राउ परेका युवालाई सार्वजनिक गरेको छ । मकवानपुरको थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई जिल्ला प्रहरी कार्यालय पर्साले तीन सय १९ किलो चरेससहित आजै पक्राउ गरेको थियो ।
पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार, काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको प्रदेश २–०३ –००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकमा लागुऔषध चरेस राखिएको थियो । विशेष सूचनाको आधारमा पर्साको सिर्सिया प्रहरी चौकीबाट खटिएको टोलीले परवानीपुर चोकबाट ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको थियो ।
उक्त चरेस नेपाल हुँदै भारततर्फ लैजाने तयारी गरेको खुलेको छ । प्रहरीले ट्रकलाईसमेत आफ्नो नियन्त्रणमा राखेको छ । एसपी मिश्रका अनुसार, चरेस ट्रकको पछाडि सामान बोक्ने भागमा प्लास्टिकमा पोका पारेर राखिएको थियो । ट्रक चालकको साथबाट प्रहरीले एक लाख ९२ हजार रुपैयाँसमेत बरामद गरेको छ ।
धादिङबाट हालिएकाृ थियो गाडीमा चरेस
पर्सा प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त चरेस धादिङबाट गाडीकमा हालिएको खुलेको छ । पक्राउ परेका स्याङ्तानले प्रहरीसँगको प्रारम्भिक बयानमा धादिङबाट लोड गरिएको चरेस भारत पुर्याउने योजना रहेको खुलाएका छन् ।
चरेस तस्करीमा उक्त गाडीका चालकभन्दा पनि अन्य व्यक्तिको संलग्नता हुनसक्ने आशंका गरेको छ । चालक स्याङ्तान भरियाका रुपमा मात्र परिचालित भएको हुन सक्ने प्रहरी आशंका छ । प्रहरीले उनको भूमिकाबारे अनुसन्धान गरिरहेको छ ।
आज देशभर लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२५ मनाइरहेका बेला पर्सा प्रहरीले ठूलो मात्रामा लागुऔषध चरेस बरामद गरेको हो । लागुऔषधविरुद्धको अभियानमा नागरिकस्तरबाट नै सशक्त रूपमा लाग्नुपर्ने प्रहरीले बताउँदै आएको छ ।