सत्ताको नेतृत्व गरिररहेको नेकपा (एमाले) ले काठमाडौं उपत्यका बाहिर रहेका आफ्ना पार्टीका सांसदहरूलाई भोलि बुधबारसम्म प्रतिनिधिसभामा आइपुग्न निर्देशन दिएको छ। एमाले प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका सांसदहरूलाई भोलि दिउँसो १ बजेभित्र प्रतिनिधिसभा बैठकमा आइपुग्न निर्देशन दिएका हुन्। सांसदहरूलाई केही दिन काठमाडौं नछाड्न पनि भनिएको छ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरिरहेका छन्। त्यसका लागि यी दलले खाली कागजमा आफ्ना सांसदहरूलाई हस्ताक्षर गराइरहेका छन्। आचारण विपरीतको कार्य गरेको भन्दै उपसभामुख रानालाई हटाउने कांग्रेस–एमालेको तयारी छ।
उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ। जो निकै बासी विषय हो । यसअघि पनि रानालाई हटाउने तयारी भएको थियो। तर, विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन।