जिल्ला अदालत मकवानपुर अरु अदालत भन्दा फरक छ । कारण यहाँ कार्यरत चारै जना न्यायाधीश महिला छन् । अदालतमा हुने गरेका फैसलाहरुमा चारै जना न्यायाधीशहरूको एउटै आवाज सुनिन्छ ‘न्यायाधीशको लिङ्ग हुँदैन’ ।
विरलै मात्र देखिने मध्ये यहाँको महिला नेतृत्वले नेपाली समाजलाई नयाँ स्वाद दिएको छ । न्याय सम्पादनमा विश्वास समेत जितेको छ । जिल्ला अदालत मकवानपुरमा महिला न्यायाधीश मात्र हैन, श्रेष्तेदार पनि महिला रोशी भण्डारी छिन भने भने बबिता बस्नेत तहसिलदारको रूपमा कार्यरत छिन् । घरधन्दा, मेलापात र चुल्हो चौकामा घोटिने महिलाहरूको हात आजभोलि ऐन कानुन निर्माण, अदालती इजलास, बिरामी शल्यक्रिया, प्रधानाध्यापक, प्रहरी प्रमुख लगायतका भूमिकामा देखिन्छन् ।
हरेक नेतृत्वमा पुरुषको उपस्थिति हुने समाजमा यहाँ भने फरक छ । यहाँ महिला नेतृत्वलाई सहजै अपनत्व र विश्वास गरिएको छ । मकवानपुर जिल्ला अदालतकी न्यायाधीश अवनी मैनाली भट्टराईले न्याय क्षेत्रलाई कर्मथलो बनाएको झन्डै चौध वर्ष भयो ।
महिला न्यायाधीश भएर १० वर्ष काम गरिसकेकी भट्टराईले यसअघि काभ्रे, ललितपुर, चितवन, पोखरामा न्याय सम्पादन गरिन । काठमाडौँ स्थायी ठेगाना भएकी भट्टराईलाई न्याय क्षेत्रमा काम गर्ने रस त्यति बेला पस्यो, जुन बेला उनले हिन्दी सिनेमाकी अभिनेत्री हेमा मालिनीको सिनेमालाई पछ्याइन् । ‘त्यति बेला नेपाली सिनेमा कमै हुन्थे । हामी हिन्दी चलचित्र खुब हेथ्र्यौ । मेरो कलिलो दिमागमा उहाँको रोल मोडलको प्रभाव परेछ उनले भनिन ।
यता जिल्ला अदालत मकवानपुरकी अर्की न्यायाधीश गीता श्रेष्ठले पनि न्याय क्षेत्रमा काम सुरु गरेको झन्डै १० वर्ष पुग्यो । भक्तपुरमा जन्मिएकी श्रेष्ठ विवाहपछि काभ्रेमा बस्दै आएकी छन् । न्याय सम्पादनका क्रममा चितवन, काठमाडौँ र धादिङ हुँदै हाल मकवानपुर जिल्लामा न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।
स्थायी ठेगाना मोरङ हभएकी शकुन्तला कार्की १६ वर्षदेखि निरन्तर न्यायको क्षेत्रमा कर्म गरिरहेकी छन् । कार्की विगत पाँच वर्षदेखि न्यायाधीशको जिम्मेवारीमा छिन् । त्यस्तै २०५३ सालदेखि न्यायको क्षेत्रमा रहेकी पूर्णिमा कोइरालाले कैयौँ अदालत र कानुन मन्त्रालयमा समेत कर्म गरिन । विगत चार वर्ष देखि उनी न्यायाधीश भएर हाल मकवानपुर जिल्ला अदालतमा छिन् ।
जिल्ला अदालत मकवानपुरमा अघिल्ला वर्षहरूमा भन्दा यस वर्षको कार्य सम्पादन अझै चुस्त देखिएको छ । न्यायका कुरामा आफूहरू विभेद नरहेको उनीहरु बताउँछन् । ‘ हामी महिला भएकै कारण महिलाका संवेदनालाई झट्टै बुझिहाल्ने कुरा त स्वाभाविक भइहाल्यो । तर न्याय दिलाउने कुरामा हामी सत्य तथ्यलाई हेर्ने गर्छौ ।’
पुरुषसँग हातमा हात, काँधमा काँध मिलाएर काम गर्न पाउँदा प्रतिस्पर्धाको नभई आफ्नो क्षमता जाँच्ने अवसर प्राप्त भएको उनीहरु बताउँछन् । यस वर्ष जिल्ला अदालत मकवानपुरले लक्ष्यभन्दा राम्रो कार्य सम्पादन गरेको तथ्याङ्कले देखाएको छ । ‘काम गर्ने सिलसिलामा अन्य जिल्लामा सरुवा भइएन भने एउटा लगनशीलताका साथ काम अघि बढ्छ । हामी यो वर्ष चार जनानै एक ठाउँमा भयौँ । त्यसैले यो वर्षको रिजल्ट राम्रो आएको छ’ न्यायाधीश भट्टराईले बताइन ।
जिल्ला अदालत मकवानपुरमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ हजार ५९७ र चालु आर्थिक वर्षमा नयाँ दर्ता भएका २ हजार ५५३ गरी कुल ४ हजार १ सय १० मुद्दा रहेका थिए । ती मध्ये चालु आर्थिक वर्षको ३० असारसम्म अदालतले ६९ दशमलव ११ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ भने लक्ष्यको आधारमा १ सय ४ दशमलव ७९ प्रतिशत फर्स्यौट गरेको छ ।
अदालतले लक्ष्यभन्दा बढी फर्स्यौट गरेको मुद्दाको सङ्ख्या १ सय २९ रहेको छ । अदालतका अनुसार १ हजार २८२ मुद्दा फर्स्यौट हुन बाँकी रहेका छन् भने ती मध्ये १८ महिनादेखि २ वर्षसम्मका १९ वटा र २ वर्ष नाघेका २ वटा मुद्दा रहेका छन् ।
जिल्ला अदालत मकवानपुरमा कुल ६० जना कर्मचारी कार्यरत छन् । यहाँ ४ न्यायाधीशसहित महिलाको सङ्ख्या २६ रहेको छ भने पुरुष कर्मचारीको सङ्ख्या ३४ रहेको छ ।
स्मिता अर्जेल/गोरखापत्र