संसद्को सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न निर्देशन दिएको छ ।
लेखा समितिमा करिब साढे ४ घन्टा लामो छलफलपछि सभापति ऋषिकेश पोखरेलले राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिको प्रतिवेदन तथा त्यस उपसमितिका सदस्यद्धय गोकुल बास्कोटा र तारा लामाको पुरक मतसहितको प्रतिवेदन ग्रहण गर्दै त्यसलाई समेत अख्तियारमा पठाउने निर्णय गरेको जानकारी दिएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताबारे अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनमाथि लेखा समितिमा बुधबार छलफल भएको हो। छलफलमा विषयवस्तुमा भन्दा पनि चर्को स्वरमा बोल्न सांसदहरुले प्रतिस्पर्धा गरेका थिए।
सांसदहरुको ध्यान प्रतिवेदनले औंल्याएका विषयवस्तुमा भन्दा चर्को बोलेर विषययान्तर गर्न केन्द्रित भएको थियो । जसका कारण बैठकमा पटक पटक होहल्ला मच्चिएको थियो। सांसदहरु एक अर्काप्रति नोकझोकमा उत्रिएका थिए ।
अन्तिममा विमानस्थल निर्माण गर्दा भ्रष्टाचार भएको ठहरसहित अख्तियार गुहार्ने सर्वसम्मत निर्णय भएको थियो ।