असारको अन्त्य हुन लागेको छ । परापूर्वकालदेखि नै किसानले असारलाई मानो रुपेर मुरी उब्जाउने दिन भन्दै आएका छन् । तर, असार सकिन लाग्दा पनि देशभर आधा जमिनमा पनि रोपाइँ हुन सकेको छैन । त्यसमध्येको पनि अन्न भण्डार मधेसमा सबैभन्दा कम रोपाइँ भएको छ ।
प्रदेशगतरूपमा सबैभन्दा धेरै सुदूरपश्चिममा रोपाइँ हुने कुल क्षेत्रफलको ८२.८ प्रतिशत (एक लाख ४५ हजार ९३२ हेक्टरमा रोपाइँ) भएको छ । सुदूरपश्चिममा एक लाख ७६ हजार १५१ हेक्टर रोपाइँ क्षेत्र छ । गत वर्ष असार २३ सम्म सुदूरपश्चिममा ८६ प्रतिशत रोपाइँ सकिएको कृषि मन्त्रालयको आँकडा थियो ।
यसैगरी, कर्णाली प्रदेशमा ७१.७ प्रतिशत, लुम्बिनी प्रदेशमा ५२.१ प्रतिशत, गण्डकीमा ५५(६ प्रतिशत, वाग्मतीमा ५१.९ प्रतिशत, मधेसमा १३.६ प्रतिशत र कोसी प्रदेशमा २९.५ प्रतिशतमात्र धान रोपाइँ भएको छ । सबैभन्दा कम मधेस प्रदेशमा रोपाइँ भएको छ । अघिल्लो वर्षको असार २३ सम्म मधेसमा साढे २५ प्रतिशत रोपाइँ सकिएको थियो ।
गत वर्षको असार २३ गतेसम्मको तथ्यांकसँग तुलना गर्दा अधिकांश प्रदेशमा रोपाइँ कम भएको छ । गत वर्ष मधेस प्रदेशमा २५.५ प्रतिशत, कोसीमा ३४.४ प्रतिशत, वाग्मतीमा ४१ प्रतिशत, गण्डकीमा ४९.७ प्रतिशत, लुम्बिनीमा ४४.४ प्रतिशत, कर्णालीमा ७८ प्रतिशत र सुदूरपश्चिममा ८६ प्रतिशत रोपाइँ सकिएको थियो ।
अघिल्ला वर्षको तुलनामा यस वर्ष मनसुन दुई हप्ताअघि भित्रिए पनि देशभर नफैलिँदा रोपाइँ कम भएको कृषि मन्त्रालयले भनाइ छ ।