Nepalmuhar Full version →
अन्तर्राष्ट्रिय

ट्रम्पको चेतावनीमा इरानी जवाफः हिंसा र आतंकवाद अमेरिकी गुण्डागर्दी

Nepalmuhar January 3, 2026
जनप्रदर्शनमा भाग लिएका जनतामाथि गोली हाने उद्धारका लागि अमेरिका इरान जाने भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति इरानको विदेश मन्त्रालयले आपत्ति जनाएको छ । इरानले यसलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कदम भनेको छ । संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूत अमिर सइद इरावानीले संयुक्त...

जनप्रदर्शनमा भाग लिएका जनतामाथि गोली हाने उद्धारका लागि अमेरिका इरान जाने भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति इरानको विदेश मन्त्रालयले आपत्ति जनाएको छ । इरानले यसलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कदम भनेको छ ।

संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूत अमिर सइद इरावानीले संयुक्त राष्ट्रसंघका महासचिव र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (यूएनएससी) का अध्यक्षलाई पत्र लेखेर देशमा भइरहेका प्रदर्शनहरूका बीच अमेरिकी राष्ट्रपति ट्रम्पबाट तेहरानप्रतिको अवैध धम्कीहरूको निन्दा गर्न आग्रह गरेका छन् ।

हिजो शुक्रवार पठाइएको पत्र ट्रम्पले इरानमा भइरहेका प्रदर्शनहरूमा कुनै पनि प्रदर्शनकारी थप मारिएमा अमेरिका इरान जान तयारी अवस्थामा रहेको भन्दै चेतावनी दिएको केही घण्टापछि आएको हो । ट्रम्पले शुक्रबार इरानमा भइरहेका विरोध प्रदर्शनहरूको सम्बन्धमा इरानी सरकारलाई चेतावनी दिँदै प्रदर्शनकारीहरूलाई सहयोग गर्ने आश्वासन दिएका थिए ।

उनले भनेका थिए, “यदि, इरानले शान्तिपूर्ण प्रदर्शनमा सहभागीहरूमाथि गोली चलायो र उनीहरूलाई क्रूरतापूर्वक मार्‍यो भने अमेरिका प्रदर्शनकारीहरूलाई बचाउन आउनेछ ।” बीबीसी फारसी सेवाका अनुसार, ट्रम्पको यो भनाइमा इरानको विदेश मन्त्रालयले भनेको छ, “यस्तो प्रकारको गैरजिम्मेवार प्रवृत्तिले इरानप्रतिको अमेरिकाको गुण्डागर्दी र अवैध व्यवहारको विस्तार हो । यो संयुक्त राष्ट्र चार्टर र अन्तर्राष्ट्रिय कानुनका मौलिक सिद्धान्त तथा नियमहरूको गम्भीर उल्लंघन हो । इरानका नागरिकहरूविरुद्ध हिंसा र आतंकवाद उक्साउने कार्य हो ।”

इरानको विदेश मन्त्रालयले चेतावनी दिँदै भनेकोे छ, “यस्तो स्थितिले सम्पूर्ण क्षेत्रलाई झन् अस्थिर बनाउन सक्छ । यसका परिणामहरूको जिम्मेवारी पूर्णरूपमा अमेरिकी सरकारको हुनेछ ।” इरानमा ६ दिनदेखि देशको खराब हुँदै गएको आर्थिक स्थिति र महँगाईविरुद्ध विरोध प्रदर्शनहरू भइरहेका छन् । यस क्रममा धेरै सहरहरूमा प्रदर्शनकारीहरू र सुरक्षा बलहरूबीच झडपहरू भएका छन् । यी झडपहरूमा ८ जना मारिएका छन् । यसबाहेक प्रहरीले धेरै व्यक्तिहरू गिरफ्तार गरेको छ ।
अलजजिरा/बाह्खरी

ट्रम्प इरान