Nepalmuhar Full version →
अर्थ

साउनको एकै महीनामा भित्रिए, सवा ३ अर्बका झन्डै २ लाख स्मार्टफोन, अधिकांश चीनबाट

Nepalmuhar August 24, 2025
चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालमा तीन अर्ब ४१ करोड रुपैयाँ बराबरका करिब दुई लाख थान स्मार्टफोन आयात भएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार यस अवधिमा कुल एक लाख ९८ हजार ३३३ थान स्मार्टफोन भित्रिएका हुन् । तथ्याङ्क अनुसार, सबैभन्दा धेरै स्मार्टफोन चीनबाट भित्रिएका छन् । साउनमा चीनबाट मात्रै द...

चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालमा तीन अर्ब ४१ करोड रुपैयाँ बराबरका करिब दुई लाख थान स्मार्टफोन आयात भएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार यस अवधिमा कुल एक लाख ९८ हजार ३३३ थान स्मार्टफोन भित्रिएका हुन् ।

तथ्याङ्क अनुसार, सबैभन्दा धेरै स्मार्टफोन चीनबाट भित्रिएका छन् । साउनमा चीनबाट मात्रै दुई अर्ब ६८ करोड रुपैयाँ बराबरका एक लाख ७५ हजार ८२९ थान स्मार्टफोन नेपाल भित्रिएका हुन् । दोस्रोमा भारतबाट ६८ करोड ९० लाख रुपैयाँका २१ हजार ९५८ थान स्मार्टफोन आयात भएका छन् ।

साउनमा आयात भएका प्रमुख वस्तुहरूको सूचीमा स्मार्टफोन सातौँ स्थानमा परेको छ । भटमासको तेल, डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, डीएपी मल र स्पञ्ज आइरनपछि सबैभन्दा बढी मूल्यको आयात स्मार्टफोनको भएको हो ।

स्मार्टफोन आयातबाट सरकारले साउनमा ६३ करोड ७९ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा तीन अर्ब ४६ करोड रुपैयाँका दुई लाख दुई हजार १६३ थान स्मार्टफोन आयात हुँदा ६४ करोड ६२ लाख रुपैयाँ राजस्व उठेको थियो ।

विभागका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा नेपालमा कुल ३५ अर्ब ५४ करोड रुपैयाँ बराबरका २१ लाख ८४ हजार ६९४ थान स्मार्टफोन आयात भएका थिए ।

स्मार्टफोन