Nepalmuhar Full version →
अर्थ

किसानलाई धान बेच्न पनि सकस

Nepalmuhar November 8, 2025
कहिले वर्षा त कहिले खडेरी अनि मल र बिउको हाहाकार झेल्दै उत्पादन गरेको धान बेच्न पनि किसानलाई सकस छ । सुदूरपश्चिम प्रदेशमा धान बेच्ने समय व्यतीत हुन लाग्दा सरकारले ताकेको मूल्य र कोटाको झमेला किसानहरूमाथि थपिएको छ । खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले धान किन्ने कोटा घटाएपछि किसानलाई धान बेच्न सकस भ...

कहिले वर्षा त कहिले खडेरी अनि मल र बिउको हाहाकार झेल्दै उत्पादन गरेको धान बेच्न पनि किसानलाई सकस छ । सुदूरपश्चिम प्रदेशमा धान बेच्ने समय व्यतीत हुन लाग्दा सरकारले ताकेको मूल्य र कोटाको झमेला किसानहरूमाथि थपिएको छ । खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले धान किन्ने कोटा घटाएपछि किसानलाई धान बेच्न सकस भएको हो ।

कैलालीमा यस वर्ष खाद्यले प्रथम चरणमा ३५ हजार क्विन्टल मात्रै धान खरिदको कोटा पाएको छ । थोरै कोटा भएपछि धान बेच्नै नपाइने डरले किसानबिच नै तछाडमछाड छ । उनीहरू रातदिन लाइनमा बसेर धान बेच्ने पालो कुरिरहेका छन् । जोशीपुर गाउँपालिकास्थित घुस्रीका दिलबहादुर कठरियाले रातदिन लाइनमा बसेर पनि पालो नपाएको दुखेसो गरे । जोशीपुर खरिद केन्द्रमा जनशक्ति अभाव र एउटै काँटा रहेका कारण किसानले लामो लाइन बसेर धान बेच्न बाध्य रहेको उनको भनाइ छ ।

तोरी र गहुँ छर्ने काम छोडेर किसान लाइनमा बसेका छन् । उनीहरू रातभर केन्द्रमै बस्ने गरेको जनाइएको छ । खाद्यले नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा ९मोटा धान प्रतिक्विन्टल तीन हजार ४६३।८१ रुपियाँमा० धान खरिद गरिरहेको छ । कात्तिक १२ गतेदेखि हालसम्म १२ हजार ५२७ क्विन्टल धान खरिद भइसकेको जनाइएको छ ।

खाद्यका अनुसार मोहनपुरबाट दुई हजार ३३९ क्विन्टल, टीकापुर खरिद केन्द्रबाट तीन हजार ८७९ क्विन्टल, गौरीगङ्गा खरिद केन्द्रबाट एक हजार ७२४ क्विन्टल धान खरिद भएको छ । यसै गरी सत्ती खरिद केन्द्रबाट दुई हजार, भजनी खरिद केन्द्रबाट एक हजार तीन सय क्विन्टल र जोशीपुर खरिद केन्द्रबाट एक हजार २८५ क्विन्टल धान खरिद भएको छ ।

अरू ठाउँमा किसानले समर्थन मूल्य नपाएका कारण खाद्यको खरिद केन्द्रमा भिड लागेको प्रमुख दीपक थापाको भनाइ छ । “सबै ठाउँमा किसानको निकै भिडभाड छ,” उनले भने।

धान खरिद सुरु गर्नुभन्दा अगाडि जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले किसानको धान बढीभन्दा बढी खरिदका लागि धान खरिद कोटा बढाएर कम्तीमा तीन लाख क्विन्टल पु¥याउन अनुरोध गर्ने निर्णय गरेको थियो । सो निर्णयसहितको पत्र लेखेर केन्द्रीय कार्यालयमा पठाएको थापाले जानकारी दिए । खाद्यले स्थानीय तहको सिफारिसका आधारमा एक किसानबाट बढीमा ५० क्विन्टलसम्म मात्रै धान खरिद गरिरहेको छ ।

टीकापुरमा झन् कठिन

टीकापुरमा धान बेच्न अरू कठिन छ । जानकी गाउँपालिका–३, लायकपुरका किसान फुकुराम चौधरीले धान बेच्न तीन दिन कुर्दा पनि पालो आएको छैन । उनी घरबाट खाना मगाएर डिपोमै बसेका छन् ।

यस्तै अस्ति बिहीबार साँझ डिपोमा पुगेका जानकी गाउँपालिका–८ का हरि चौधरी सोमबार पालो आउने आसमा लाइनमै छन् । उनी भन्छन्, “रातभर लामखुट्टे टोक्छन, एक जनाले घरबाट खाना बोक्नु पर्छ, डन्लब (गाडा) तानेर ल्याएका राँगालाई पानी खुवाउन नदीमा लैजानु पर्छ फेरि डन्लब सार्नुपर्ने बाध्यता छ ।”

हिजो शुक्रबार साँझ टीकापुर खरिद केन्द्रमा ट्याक्टर, पावर टिलर र डन्लब गरी पाँच सयभन्दा बढी किसान लाइनमा बसिसकेका छन् । टीकापुर खरिद केन्द्रमा एक लाइन ट्याक्टर र एक लाइन डन्लबलाई दिइएको छ । बजारमा धानको भाउ नभएपछि सबै किसानले एकैचोटि खाद्य मै धान ल्याउँदा भिड बढेको छ, केन्द्रका वरिष्ठ सहायक पुष्पराज बजगाईंले भने, “दुई काँटामा ३२ जना कामदारले धान जोख्ने काम गरिरहेका छन् तैपनि भिड छ । किसानको समस्या देखेर नि केही गर्न सक्ने अवस्था छैन ।” टीकापुर केन्द्रमा टीकापुर नगरपालिका, जानकी गाउँपालिका, लम्कीचुहाका केही क्षेत्रका किसान धान बेच्न आइरहेका छन् ।

कञ्चनपुरमा सस्तोमा बेच्न बाध्य

बेलौरीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले अभाव भन्दै एक स्थानबाट मात्रै धान खरिद गरेपछि किसानले कठिनाइ भोग्नु परेको छ । एक स्थानबाट मात्रै धान खरिद गरिँदा जिल्लास्थित अत्यधिक धान उत्पादन हुने क्षेत्रका कृषक सस्तोमा व्यापारीलाई धान बिक्री गर्न बाध्य छन् ।

एउटा डिपो मात्रै सञ्चालनमा ल्याइँदा केही पालिकाका कृषक मात्रै लाभान्वित भएका छन् । यहाँको भीमदत्त र बेदकोट नगरपालिकाका कृषकलाई धान बेच्नका लागि सहज हुने अपेक्षा गरिएको छ । गत वर्ष भने खाद्यले शुक्लाफाँटा नगरपालिकास्थित झलारी बजारमा पनि डिपो सञ्चालनमा ल्याएको थियो ।

यस वर्ष झलारीमा पनि डिपो सञ्चालनमा नल्याइँदा निजी व्यवसायीलाई सस्तो दाममै धान बेच्नुपर्ने बाध्यता रहेको कृषकले गुनासो गरेका छन् । शुक्लाफाँटाका कृषक हरिस दमाईंले घरमा भित्र्याएको धान सस्तो दाममै बिक्री गर्नुपर्ने अवस्था आएको बताए । उनले निजी व्यवसायीले सरकारले तोकेकोभन्दा प्रतिक्विन्टल आठ सय रुपियाँ कममा धान खरिद गरिरहेको गुनासो गरे । झलारीमा डिपो सञ्चालनमा नल्याइँदा कृष्णपुर नगरपालिकाका कृषकले पनि निजी व्यवसायी नै सस्तो मूल्यमा नै धान बिक्री गर्नु परेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यस वर्ष खाद्य कार्यालयले महेन्द्रनगरबाट मात्रै धान खरिद गर्ने भएपछि जिल्लाको दक्षिणी क्षेत्रका कृषकसमेत सस्तो मूल्यमै निजी व्यवसायीलाई धान बिक्री गर्न बाध्य छन् । बेलौरी, पुनर्वासबाट धान बिक्रीका लागि महेन्द्रनगरसम्म लैजाँदा कृषकले अत्यधिक भाडा तिर्नुपर्ने भन्दै निजी व्यवसायीलाई नै सस्तो मूल्यमै धान बेच्न बाध्य छन् । जिल्लाका विभिन्न स्थानमा धान खरिद गर्दै आएका निजी खाद्य भण्डार, मिल सञ्चालकले प्रतिक्विन्टल दुई हजार पाँच सयदेखि दुई हजार सात सय रुपियाँसम्म धान खरिद गरिरहेका छन् ।
अविनाश/एकिन्द्र/भवानीदत्त/रमित/गोरखापत्र

Featured किसान धान