Nepalmuhar Full version →
समसामयिक

काभ्रेको बाढी पीडित गाउँमा ड्रोनमार्फत खाद्यान्न ढुवानी

Nepalmuhar October 7, 2024
अविरल वर्षाले ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नम्बर वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ ।  आइतबारदेखि ‘हामी टिम नेपाल’ नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त गाउँमा चामललगायत खाद्यान्न सामग्री पठाएको हो । आइतबारदे...

अविरल वर्षाले ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नम्बर वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । 

आइतबारदेखि ‘हामी टिम नेपाल’ नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त गाउँमा चामललगायत खाद्यान्न सामग्री पठाएको हो ।

आइतबारदेखि पहिला परीक्षण गरी सो गाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको टिम नेपालका स्वयंसेवक परीक्षण हुमागाईँले जानकारी दिएका छन् । उनका अनुसार आज उक्त गाउँका लागि तयारी गरिएको सामग्री पठाइनेछ । भौगोलिक विकटता एवं ग्रामीण सडक अवरुद्ध भएपछि उक्त गाउँका ८५ परिवारका लागि उक्त संस्थाले ड्रोनको सहयता लिएको हो ।

सो गाउँका ८५ परिवारमा खाद्यान्नलगायत राहत सामग्री आवश्यक छ भन्ने खबर पाएपछि सडक नबन्दासम्म ड्रोनमार्फत पठाइने उपाय निकालिएको हुमागाईँले बताए । पनौती बजारबाट उक्त गाउँ पुग्ने सडक क्षतिग्रस्त भएकाले १२ नम्बर वडास्थित भूमिडाँडाबाट ड्रोन उडाइ सामग्री पठाउन थालिएको हो ।

सामाजिक अभियन्तासमेत रहेका हुमागाईँका अनुसार ड्रोनमार्फत एकपटकमा ६५ किलोग्रामसम्म खाद्यान्न सामग्री ढुवानी गर्न सकिनेछ । उनले आइतबार कानुनी प्रक्रिया पूरा गर्ने क्रममा सामग्री पठाउन ढिलो भएको बताउँदै आज ड्रोनमार्फत सामग्री पठाइने बताए ।

गत साताको बाढीपहिरोका कारण काभ्रेमा हालसम्म मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ । घटनामा ७५ जना घाइते भएका छन् । 

Featured ड्रोन खाद्यान्न