Nepalmuhar Full version →
अर्थ

पोखरा विमानस्थल भ्रष्टाचारमा ५ पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध विशेषमा मुद्दा

Nepalmuhar December 7, 2025
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजना तत्कालीन मन्त्रीसहित ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा लगेको छ । दर्ता हुने क्रममा रहेको मुद्दाको मिसिलमा ८ अर्ब बिगो दाबी गरिएको छ । अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण मह...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजना तत्कालीन मन्त्रीसहित ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा लगेको छ । दर्ता हुने क्रममा रहेको मुद्दाको मिसिलमा ८ अर्ब बिगो दाबी गरिएको छ ।

अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएको छ । त्यस्तै १० जना तत्कालीन सचिवहरुलाई पनि विपक्षी बनाइएको छ । पूर्वमन्त्रीमध्ये माओवादी नेता समेत रहेका बोगटीको निधन भइसकेको छ । उनी त्यसबेला पर्यटनमन्त्री थिए । त्यस्तै कांग्रेस नेता शामशरण महत अल्जाइमरका कारण स्मरण शक्ति कमजोर भएर सक्रिय राजनीतिमा छैनन् ।

एमाले नेता भीम आचार्य विघटित प्रतिनिधिसभा सदस्य हुन् । आचार्य नेकपा (एमाले) को ११ औं महाधिवेशनमा उपाध्यक्षका दाबेदार समेत हुन् । उनीपछि झलनाथ खनालका स्वकीय सचिव दिपक अमात्य पर्यटनमन्त्री बनेका थिए ।

रामकुमार श्रेष्ठ खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा माओवादी अध्यक्ष प्रचण्डको सिफारिसमा पर्यटनमन्त्री बनेका थिए । श्रेष्ठ यसअघि अख्तियारले दायर गरेको अकुत सम्पत्ति आर्जनको मुद्दामा पनि विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् ।

अख्तियारले नागरिक उड्डन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिस चन्द्र लाल सुमन, तत्कालीन प्रोजेक्ट म्यानेजर हाल क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित ५५ जनालाई प्रतिवादी बनाएको छ । त्यस्तै तत्कालीन सचिव सुरेशमान श्रेष्ठ,कार्यदल संयोजक तथा सर्बोच्चका पूर्व रजिष्टार रामकृष्ण तिमल्सिनालगायत त्यसबेलाका उच्च अधिकारीको ठूलो संख्या यो प्रकरणमा परेका छन् ।

Featured पोखरा विमानस्थल भ्रष्टाचार