Nepalmuhar Full version →
राजनीति

करिब चार लाखले गरे कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक

Nepalmuhar June 5, 2026
थप समयमा पनि अपेक्षा गरिएअनुसार भएन अद्यावधिक, फेरि २८ जेठसम्म थपियो म्याद
करिब चार लाखले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् । २१ दिन समय थप्दा पनि अपेक्षाअनुसार क्रियाशील सदस्यता अद्यावधिक नभएको कांग्रेसले जनाएको छ ।

गत वैशाखभर सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, पछि २१ जेठसम्म म्याद थपिएको थियो । धेरै जिल्लामा सदस्यता नवीकरणको गति सुस्त देखियो भने कतिपय स्थानमा निर्धारित समयभित्र प्रक्रिया सम्पन्न गर्नसमेत कठिनाइ भएको नेताहरूले बताएका छन् । कांग्रेसले २८ जेठसम्म अन्तिमपटकका लागि म्याद थप गरेको छ । बिहीबार बसेको क्रियाशील सदस्यता व्यवस्था समितिको बैठकले म्याद थपको निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले बताए । 

क्रियाशील सदस्यता व्यवस्था समितिका सदस्य एवं सहमहामन्त्री प्रकाश स्नेहीले भने चार लाख प्लस सदस्यता अद्यावधिक भएको बताए । ‘कतिपय ठाउँमा प्राविधिक समस्या पनि देखियो । सुरुमा सदस्यता अद्यावधिक सुस्त भए पनि पछिल्लो समय स्पिड बढेको छ,’ उनले भने । कतिपय जिल्लाले समय थप गर्न माग गरेका छन् । समग्रमा समय थप गर्ने कि माग भएबमोजिम मात्र समय दिने भन्ने निर्णय हुन बाँकी रहेको समितिले जनाएको छ । बैठक बसेर आवश्यक निर्णयमा पुग्ने स्नेहीले बताए । ‘सदस्यता अद्यावधिक भइरहेको छ । अद्यावधिकको सबै काम सकिएको छैन । अहिलेसम्म चार लाख प्लस सदस्यता अद्यावधिक भएको छ । बाँकी प्रक्रिया के गर्ने भन्ने निर्णयमा छिट्टै पुग्छौँ,’ उनले भने ।

महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति छ । १४औँ महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य आठ लाख ७० हजार बढी थिए । विशेष महाधिवेशनअघि चार लाख ५० हजारले क्रियाशील सदस्यता नवीकरण गरेका थिए । करिब डेढ लाखले नयाँ सदस्यता लिएका थिए । सदस्यता नवीकरणको काम नसकिएका कारण १५औँ महाधिवेशन गत पुसमा हुन सकेको थिएन । 

अघिल्लो महाधिवेशनमा सरकारी कर्मचारी, शिक्षकलगायत सदस्य रहेको र अहिले त्यो संख्या घटेको स्नेहीले बताए । त्यसबाहेक पनि ठुलो संख्याले सदस्यता अद्यावधिक गरेका छैनन् । क्रियाशील सदस्यता अद्यावधिकका लागि कांग्रेसले देशभर केन्द्रीय प्रतिनिधि खटाएको थियो । कांग्रेसको प्रारम्भिक मतदाता क्रियाशील सदस्य हुन् । नियमित महाधिवेशन हुन नसकेपछि गत पुसमा विशेष महाधिवेशनबाट सभापति गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति चयन भएको हो । कांग्रेसले नयाँ क्रियाशील सदस्यता पनि खुलाएको छ । नेपालको संविधान, कांग्रेसको विधान र पार्टी अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धतासहित क्रियाशील सदस्यताका लागि आवेदन दिन सकिने कांग्रेसले जनाएको छ । 

‘नेपालको संविधान, कांग्रेसको विधान, नियमावली र पार्टी अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धताका साथ स्वदेश तथा विदेशमा रहनुभएका योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले नयाँ क्रियाशील सदस्य बन्नका लागि पार्टीको वेबसाइटमार्फत सहज र सरल रूपमा आवेदन फाराम भर्न सकिने गरी खुला गरिएको छ,’ कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले भने । 

आगामी १५ असारसम्म सदस्यतामाथि आवश्यक छलफल गरी केन्द्रले टुंग्याउने कार्यतालिका छ । असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली निर्वाचन समितिलाई बुझाउने र साउन मसान्तभित्र अधिवेशन सुरु गर्ने तयारी छ । साउन मसान्तभित्र नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ । २ भदौमा ६ हजार ७४३ वटै वडामा अधिवेशन सम्पन्न गर्ने र क्षेत्रीय प्रतिनिधि चयन गर्ने कार्यतालिका छ । ७ भदौमा गाउँ नगर अधिवेशन, १७ भदौमा प्रदेश तथा क्षेत्रीय अधिवेशन गर्ने तालिका छ । 

बारा सभापति यादव निलम्बित
कांग्रेस अनुशासन समितिले सर्लाहीका तीन प्रदेश सदस्यलाई ‘क्लिनचिट’ दिएको छ । प्रदेश सभा सदस्यहरू सकुन्तीदेवी महरा, कौशककिशोर राय र जंगीलाल रायलाई गुनासो नआउने गरी सजगताका साथ पार्टीको पदीय जिम्मेवारीमा लाग्न सचेत गराएको अनुशासन समितिले जनाएको छ । समितिको बिहीबारको बैठकले उनीहरूलाई सचेत गराएको हो । समितिका संयोजक तारामान गुरुङले पार्टी अनुशासन सबैले मान्नुपर्ने बताए । कांग्रेस अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई निर्वाचनमा हराउन लागेको आरोपमा उनीलाई निलम्बन गरिएको अनुशासन समितिले जनाएको छ ।

इतर पक्ष अद्यावधिक बाहिरै
कांग्रेसमा संस्थापन र इतरपक्षबिच विवाद छ । कांग्रेसमा सदस्यता अद्यावधिक थोरै हुनुको मुख्य कारण आन्तरिक गुटगत राजनीति मानिन्छ । विशेष महाधिवेशनमा सहभागी नभएका पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष सदस्यता अद्यावधिकमा सहभागी भएको छैन । एकपटक नवीकरण भइसकेका सदस्यतालाई पुनः अद्यावधिक गर्ने कामले शंका उब्जाएको इतर पक्षको दाबी छ । १५औँ महाधिवेशनका लागि पहिले नै सदस्यता नवीकरण गरेकाले सोही महाधिवेशनका लागि दोहोर्‍याएर अद्यावधिक नगर्ने इतर पक्षको अडान छ ।

‘१५औँ महाधिवेशनका लागि पहिले नै सदस्यता नवीकरण भइरहेको छ । अहिले अद्यावधिकको नाममा जालझेल गर्न खोजिएको हो,’ इतर पक्षका नेता कुन्दनराज काफ्लेले भने, ‘राजनीति त्याग र समर्पणको विषय हो । कांग्रेससँग त्यागको लामो शृंखला जोडिएको छ । यसलाई उधिन्ने काम भइरहेको छ । पार्टी स्वार्थ बाझिने व्यक्तिको समूहको अखडा बन्नेतर्फ वास्तविक कांग्रेसजन सचेत रहनुपर्छ ।’ 

खड्काको अगुवाइमा केही दिनअघि मात्रै इतर पक्षका शीर्ष नेताहरूको छलफल भएको थियो । १५औँ महाधिवेशनका लागि गत १० पुससम्म टुंगिसकेका र त्यसपछि नवीकरण तथा नयाँ वितरण भएका क्रियाशील सदस्यतालाई नै कायम गरी उनीहरू महाधिवेशनमा सहभागी हुने कुराको सुनिश्चितता गर्ने–गराउने विषयमा दृढ एवं प्रतिबद्ध रहेको खड्काले बताएका थिए ।

सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन आवश्यक: गगन
ककांग्रेस सभापति गगन थापाले सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन आवश्यक रहेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सबैको सम्पत्ति छानबिन आवश्यक रहेको बताएका हुन् । सम्पत्ति छानबिनलाई विश्वसनीय बनाउन सरकारमा रहेका व्यक्तिहरू स्वयं पनि छानबिनको दायरामा आउनुपर्ने उनले बताए । सार्वजनिक सम्पत्तिको दुरुपयोग, भ्रष्टाचार र सार्वजनिक पदमा बसेकाहरूको सम्पत्तिको छानबिनको विषय हरेक राजनीतिक बहसको केन्द्रमा रहने गरेको बताए । 

कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमै सम्पत्ति छानबिन गर्ने सशक्त आयोग गठन गर्ने प्रतिबद्धता जनाएको भन्दै हाल सरकारले गठन गरेको आयोगप्रति पनि सहयोग रहने बताए । ‘केही राजनीतिक दलका शीर्ष नेताहरूले हामी विवरण बुझाउँदैनौँ भनेर भन्नुभएको छ । त्यसबारेमा हाम्रो कुनै टिप्पणी छैन । तर, कांग्रेसका तर्फबाट म पनि र मेरो पार्टीका सबै साथीहरूले आफ्नो विवरण बुझाउनुहुन्छ,’ उनले भने ।
प्रेभ गौतम/नयाँ पत्रिका
कांग्रेस क्रियाशील सदस्यता