अविरल वर्षापछि आएको. बाढीले कोसी प्रदेशको राजधानी विराटनगर सबैभन्दा बढी प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक गरेको विवरणअनुसार, मोरङमा ३८६ घर डुबानमा परेका छन् । एक हजार ५६८ सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ ।
मोरङको सदरमुकाम विराटनगरमा सबैभन्दा धेरै २०१ घर डुबानमा परेका छन् । त्यसपछि रतुवामाई नगरपालिकाका ७४ घर डुबानमा परेको प्रशासन कार्यालयको भनाइ छ । सुनवर्षी नगरपालिकामा ६० घर डुबेका छन् । कटहरी गाउँपालिकामा ३५ र उर्लाबारी नगरपालिकामा १५ घर डुबेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बाढीबाट प्रभावितलाई विद्यालय तथा सामुदायिक भवनमा सुरक्षित सारिएको छ । मिक्लाजुङमा नुनसरी खोलाले बाँध कटान गरेको छ । उता सुनवर्षीमा बक्राहा खोलाको बाँध कटान भएको छ । रतुवामाई नगरपालिका–५, कुमार टोल र लारीकट्टा स्कुल छेउमा रहेको डुबानमा परेको २९ घर परिवारलाई सुरक्षित स्थान तर्फ पठाइएको प्रजिअ यादवले बताए ।
✏️ टिप्पणी लेख्नुहोस्